मन्त्री महर्जनले गरे एन्फा यू–१६ युथ लिगको उद्घाटन

तु खबर संवाददाता
२०८१ पुष १३, शनिबार १३:१८

काठमाडौँ । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले एन्फा यू–१६ युथ लिग फुटबल प्रतियोगिताको उद्घाटन गरेका छन् ।
अलिख नेपाल फुटबल संघद्वारा सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आयोजित प्रतियोगिताको मन्त्री महर्जनले उद्घाटन गरे ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री महर्जनले बागमती प्रदेशको समग्र खेल क्षेत्रको विकासका लागि आफुले पहल गरिरहेको बताए । उनले आफु मन्त्री नियुक्त हुँदा बजेट बनिसकेको र त्यो अत्यन्तै न्यून भएको कारण खेल क्षेत्रको विकासका लागि सोचेअनुरुप काम गर्न कठिनाई भएको भन्दै आगामी वर्ष खेल क्षेत्रको विकास र खेलाडीहरुको हितलाई ध्यानमा राखेर बजेट बृद्धि गरिने बताए ।

मन्त्री महर्जनले आफु खेलकुद क्षेत्रकै मानिस भएको कारण खेलाडीहरुको मर्म र भावना बुझेको भन्दै आफ्नो कार्यकालमा खेल क्षेत्रको विकासका लागि उल्लेख्य काम गर्ने बताए ।

उद्घाटन खेलमा चर्च ब्वाइज युनाइटेड क्लबले जित हासिल गरेको छ । चर्च ब्वाइजले संकटा क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो । चर्च ब्वाइजका लागि सनिल मगर र सुगम रानाले समान १–१ गोल गरे । त्यस्तै, यता संकटाका लागि भने पेम्बा तामाङले गोल गरे । खेलको १५ औँ मिनेटमा पेम्बाको ‘पेनाल्टी’ गोलमार्फत् संकटाले पहिलो अग्रता लियो । त्यसपछि खेलको ३० औँ मिनेटमा चर्च ब्वाइजका सनिलले ‘फ्री किक’मार्फत १ गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८४ औँ मिनेटमा सुगमले गोल गर्दै चर्च ब्वाइजलाई २–१ को जित दिलाए ।

उद्घाटन समारोहमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा, प्रतियोगिता संयोजक विकास नारायण श्रेष्ठ, उपमहासचिव अरुणमान जोशी, लगायतको उपस्थिति रहेको थियो ।