मकवानपुरका कार्कीसहित तीन जना दुबईबाट पक्राउ

तु खबर संवाददाता
२०८१ आश्विन १०,बिहीबार १६:११

काठमाडौं । विभिन्न मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना फरार प्रतिवादी दुबईबाट पक्राउ गरेर काठमाडौं ल्याइएको छ ।

ठगीसम्बन्धी कसुर मुद्दामा दुई जना र जबरजस्ती करणी कसुरसम्बन्धी मुद्दामा एक जना गरी तीन जना फरार प्रतिवादी दुबईबाट पक्राउ गरेर नेपाल ल्याइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

ठगीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पाँचथर मिक्लाजुङ गाउँपालिका–४ ठेगाना भएका ४२ वर्षीय भूपेन्द्र बोहोरा र काठमाडौँ नागार्जुन नगरपालिका–९ बस्ने २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकीलाई पक्राउ गरिएको हो ।

यस्तै, जबरजस्ती करणी कसुरसम्बन्धी मुद्दाका फरार प्रतिवादी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ घर भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका–१० बस्ने २६ वर्षीय रोमन कार्कीलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका तीनैजनालाई सम्बन्धित मुद्दामा कारबाही गर्ने, गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको हो ।

पक्राउ परेका भूपेन्द्रलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोमा तथा कबिर र रोमनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि बुझाएको जनाइएको छ ।