जापान पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

तु खबर संवाददाता
२०८१ भाद्र ३०, आईतवार १७:२१
सांकेतिक तस्बिर

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–७ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२ बस्ने ४२ वर्षीय राम कुमार जिमी रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–२५ सुन्धाराबाट पक्राउ गरेको हो ।

प्रहरीक अनुसार, जापान पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।