मन्त्री काफ्लेद्वारा प्रदेश सरकारको लगानीमा निर्माणाधिन संरचनाहरुको स्थलगत अनुगमन

तु खबर संवाददाता
२०८१ भाद्र २५, मंगलवार ०९:५०

मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रदेश सरकारको लगानीमा निर्माणाधिन संरचनाहरुको सोमबार स्थलगत अनुगमन गरेका छन् ।

मन्त्री काफ्लेले हेटौंडा–६ स्थित गौरीटार रंगशाला, हेटौंडा–१० स्थित पाउडर दूध तथा बटर उद्योग र हेटौंडा–११ मा निर्माणाधिन प्रादेशिक तरकारी थोक बजारको स्थलगत अनुगमन गरेका हुन् ।

प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको गौरीटार रंगशालामा निर्माणाधिन क्रिकेट स्टेडियम, फुटबल मैदान, पौडीपोखरीको स्थलगत निरीक्षण गर्दै मन्त्री काफ्लेले समयसिमा भित्रै कार्य सम्पन्न गर्न निर्माण व्यवसायी कम्पनी र सम्बन्धित निकायलाई निर्देशन दिए ।

यस्तै, उनले मोडालिटी बनाएर पाउडर दूध तथा बटर उत्पादन उद्योग संचालन गर्न आग्रह गरे । अध्ययनबिना नै हचुवाका भरमा लगानी गर्दा प्रदेशको करौडौं रकम अनुत्पादक हुने गरेको उनले बताए ।