करको दायरा बढाएको विरोधमा मउवा संघद्वारा आन्दोलनको घोषणा

तु खबर संवाददाता
२०८१ श्रावण २८, सोमबार १७:३२

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघले करको दायरा बढाएको विरोधमा आन्दोलन गर्ने घोषणा गरेको छ । हेटौंडा उपमहानगरपालिकाले करको दायर बढाएको विरुद्धमा मउवा संघले आन्दोलन गर्ने घोषणा गरेको हो ।

संघको कार्यसमिति बैठकले पहिलो चरणमा पाँच दिने आन्दोलन गर्ने घोषणा गरेको संघका अध्यक्ष कृष्ण गुप्ताले जानकारी दिए ।

उनका अनुसार, संघले नगर सरकार खोज्दै मैनबत्ति जुलुस, कार्यालयमा धर्नादेखि व्यवसाय नै बन्द गरेर चाबी बुझाउनेसम्मको आन्दोलनका कार्यक्रम तय गरेको छ ।

असार ७ मा भएको उपमहानगरको १५ औं नगर सभाबाट राजस्व दरमा वृद्धि गर्ने निर्णय भएको थियो । उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१–८२ को लागि वाहलकरदेखि व्यवसाय करमा २० देखि १५० प्रतिशतसम्म राजश्व वृद्धि गरेको हो ।

व्यवसायीहरुले उपमहानगरपालिको उक्त निर्णयविरुद्ध यसअघि नै ध्यानाकर्षण गराएका थिए ।