लागूऔषधसहित मकवानपुरबाट दुई जना पक्राउ
मकवानपुर । मकवानपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारतको सितामडी वडा नं.९ बराह बस्ने वर्ष ४५ को सुदिर सिंह र सोही वडा नम्वर ८, बराही चिन्तामन बस्ने वर्ष ६८ की रेनु देबि चौधरी रहेका छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मातहत इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरबाट खटिएको प्रहरी टोलिले लागूऔषध चरेस ६ किलोसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, त्रिभुवन राजपथ सडकखण्डमा दुस्सिखर्कबाट हेटौंडातर्फ आउँदै गरेको ना ४ ख ४५६७ नं.को बसलाई मकवानपुरको थाहा नगरपालिका वडा नम्वर ३, सिखरकोट बजारस्थित रोकि चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार उनीहरुको साथबाट सो परिमाणको चरेस बरामद भएको र बरामद चरेससहित उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरुलाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट २० दिनको म्याद अनुमती लिइ थप अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
