अवैध लागूऔषधसहित सात जना पक्राउ

काठमाडौं । प्रहरीले देशको छु्ट्टाछुट्टै स्थानबाट लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा, बाँके, सिराहा र सुनसरी जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले लागूऔषध ब्राउनसुगर १ ग्राम ५ सय ३० मिलिग्रामसहित आइतबार बेलुका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापाको बुद्धशान्ति गाउँपालिका–४ सट्टाभर्ना बस्ने २५ वर्षीय सम्बर राई र उनकै भाइ २३ वर्षीय सुरेन्द्र राई रहेका छन् । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस्तै, बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह भन्सार चेक प्वाइन्ट नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर ८ ग्राम ५ सय मिलिग्रामसहित एक जनालाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बस्ने २९ वर्षीय प्रकाश केसी रहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले भे.७ प ६६८९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी, सिराहाको बरियारपट्टी गाउँपालिका–३ हुलाकी सडकबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय ३ ग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गोलबजार नगरपालिका–६ बस्ने २४ वर्षीय विनय सिंह र भारत घर भएका ३४ वर्षीय रोशन कुमार यादव रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरीले मधेश प्रदेश ०१– ००४ प ९९८९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
यता, सुनसरीको ईनरुवा नगरपालिका–९ बबिया चोकबाट अवैध लागूऔषध गाँजा १ सय १५ किलो ७ ग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा साँघुरिगढी गाउँपालिका–१ बस्ने ३२ वर्षीय राम कुमार राई र २२ वर्षीय बुद्ध लिम्बु रहेका छन् ।
गाँजा बोकेको प्रदेश १–०२–००२ च ६८८३ नम्बरको टाटा सफारी गाडी सशस्त्र प्रहरी बल नेपाल सुनसरीबाट खटिएको गस्ती टोलील नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले गाडीबाट ११ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी गाडी चालक राम कुमार र गाडीमा सवार बुद्धलाई पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।