‘जनप्रतिनिधिले शिक्षामा ध्यान नदिँदा प्रतिफल कमजोर’

मकवानपुर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज विजय गौतमले जनप्रतिनिधिहरुको मुख्य ध्यान शिक्षामा हुनुपर्नेमा त्यसो नहुँदा एसईईको नतिजा कमजोर आएको बताएका छन् ।
मंगलबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (क्रान्तिकारी) बकैया गाउँपालिका समितिले २०८० सालको एसईई परीक्षामा पालिकास्थित विभिन्न विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गर्न आयोजित कार्यक्रममा बोल्नै उनले यस्तो बताएका हुन् ।
उनले विकास भनेको सडक, पुल, तटबन्धन मात्र नभएको भन्दै शिक्षामा ध्यान सबै पक्षले पुर्याउन जरुरी भएको बताए । गौतमले प्रभावकारी शिक्षण सिकाईको लागि सोही अनुरुपको सिकाई वातावरण निर्माण गर्नेतर्फ सबै तहका जनप्रतिनिधिको चासो हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बकैया गाउँपालिकाका ११ वटा विद्यालयबाट एसईई परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा ल्याउने ४६ जना विद्यार्थीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेकपा माओवादी बागमती प्रदेश सचिवालय सदस्य एवम् बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, माओवादी मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन, बागमती प्रदेश सचिवालय सदस्य एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, सचिव बिरबहादुर घलान (ज्वाला), बागमती प्रदेश कमिटी सदस्य तथा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर, पार्टी प्रदेश कमिटी सदस्य लक्ष्मी माझी, बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्री, अखिल (क्रान्तिकारी) बागमती प्रदेश कमिटी सचिव रामकृष्ण शिवाकोटी, मकवानपुर जिल्ला कमिटी अध्यक्ष बुद्धराज अर्याल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम गौतम, बकैया गाउँपालिका पार्टी सचिव बिमल नेपाल लगायतको आतिथ्यता रहेको थियो ।
अखिल क्रान्तिकारी बकैया गाउँ कमिटीका अध्यक्ष सागर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव दिपेश घिमिरेले संचालन गरेका थिए ।