अवैध लागूऔषधसहित आठ जना पक्राउ
काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित आठ जनालाई पक्राउ गरेको छ । प्रहरीले कास्की, मोरङ, तनहुँ र पर्सा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले कास्कीको पोखरा महानगरपालिका–५ ज्योति मार्ग डेरा गरी बस्ने स्याङजा विरूवा गाउँपालिका–११ घर भएकी २२ वर्षीया सुस्मिता नेपालीसमेत ३ जनालाई अवैध लागूऔषध गाँजासहित पक्राउ गरेको छ ।
प्रहरीले लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्रामसहित उनीहरुलाई शनिबार दिउँसो पक्राउ गरेको हो । उनीहरुलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले सुस्मिताको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
यस्तै, मोरङको केराबारी गाउँपालिका–८ खदम खोलाको पुलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ९ सय २० मिलिग्रामसहित शनिबार तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिका–७ बस्ने १९ वर्षीय साजन लिम्बुसमेत ३ जना रहेका छन् ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।
तयस्तै, तनहुँको बन्दिपुर गाउँपालिका–१ बन्दिपुर गेटस्थित बाटोबाट अवैध लागूऔषध गाँजा ४ किलोग्रामसहित आज बिहान एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही गाउँपालिका–४ बस्ने १९ वर्षीय बिनायक सुनार रहेका छन् । प्रहरी चौकी डुम्रेबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको जनाएको छ ।
यसैगरी, प्रहरीले पर्साको बहुदरमाई नगरपालिका–९ बिश्रामपुरबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्रामसहित शनिबार राति एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने १६ वर्षीय किशोर रहेका छन् । अस्थायी प्रहरी पोष्ट बहुअर्वाभाठाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
