त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित तीन जना पक्राउ

तु खबर संवाददाता
२०८१ श्रावण ४, शुक्रबार १७:०६

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट बिहीबार अवैध सुनसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा बाग्लुङको बाग्लुङ नगरपालिका–४ घर भएका ३६ वर्षीय शम्सेर विक, गुल्मीको सत्यवति गाउँपालिका–२ घर भएका ३६ वर्षीय नुम बहादुर थापा मगर र बाराको जितपुरसिमरा उपमहानगरपालिका–२४ घर भएका ४३ वर्षीय साहेव देवन रहेका छन् ।

उनीहरुलाई भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको बाला २ थान, औठी १ थान र चन्द्र बिन्दु १ थान गरी करिब ५२ ग्राम तौल बराबरको सुनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, हिमालयन एयरलाईन्सको उडानद्वारा नेपाल आएका शम्सेर र नुम बहादुरलाई जनही ९/९ हजार रूपैयाँ दिएर भन्सार छली गर्न लगाई ल्याएको उक्त सुन साहेवले संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी निजहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाएको जनाइएको छ ।