अवैध लागूऔषधसहित ११ जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको विभिन्न स्थानबाट ११ जनालाई पक्राउ गरेको छ । प्रहरीले बर्दिया, मोरङ, रुपन्देही, उदयपुर र रोल्पा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले बर्दियाको गुलरिया नगरपालिका–११ वाईपास रोडबाट अवैध लागूऔषध ब्राउनसुगर ६ सय ७० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत लौकाही बजार घर भई बाँसगढी नगरपालिका–८ लक्ष्मणा बस्ने २२ वर्षीय अवराज जागा र बाँसगढी नगरपालिका–५ बस्ने २८ वर्षीय सिजन पौडेल रहेका छन् । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस्तै, मोरङको बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम १ सय ५० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ सुन्दर हरैंचा नगरपालिका–४ बस्ने ३१ वर्षीय नबिन कार्की र ३२ वर्षीय बिष्णु चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी, रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ मझुवा बस्ने ४६ वर्षीय राजु सारू मगर र निजको श्रीमती ४१ वर्षीया सुमित्रा शाहीलाई अवैध लागूऔषध गाँजा ८ सय १० ग्रामसहित सोमबार राति प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै, उदयपुरको कटारी नगरपालिका–७ रिस्कुबाट अवैध लागूऔषध गाँजा करिब ४९ किलोग्रामसहित ताप्ली गाउँपालिका–१ बस्ने ३१ वर्षीय शम्भु राई समेत ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
उता रोल्पा, माडी गाउँपालिका–२ पिपलबोटबाट अवैध लागूऔषध ब्राउनसुगर २२ मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा माडी गाउँपालिका–६ पन्तिवाङ बस्ने २२ वर्षीय सगुन पुन मगर र २० वर्षीय युवान घर्ती रहेका छन् । इलाका प्रहरी कार्यालय घर्तीनगरबाट खटिएको प्रहरीले घर्तिगाउँबाट कोर्चावाङतर्फ जाँदै गरेको रा.६ प ४९०२ नम्बरको मोटरसाइकलाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।