लागूऔषधसहित तीन जना पक्राउ

तु खबर संवाददाता
२०८१ असार ३१,आईतवार १७:२१
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले बर्दिया र कैलाली जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ ।

प्रहरीले बर्दियाको बाँसगढी नगरपालिका–३ बाट अवैध लागूऔषध ब्राउनसुगर ५० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेरूमा सोही ठाउँ बस्ने २९ वर्षीय बेण्ड कुमार थारू र १९ वर्षीय सरोज कुमार थारू रहेका छन् ।

बेण्ड कुमारको घरमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यस्तै, कैलालीको घोडाघोडी नगरपालिका–१० पहलवानपुर बजारबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय २० मिलिग्रामसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २५ वर्षीय प्रकाश सिंह महतो रहेका छन् ।

उनलाई आइतबार बिहान इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ती दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।