लागूऔषधसहित पाँच जना पक्राउ

तु खबर संवाददाता
२०८१ असार २८,बिहीबार १६:११
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा र चितवनबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले झापाको भद्रपुर नगरपालिका–५ भद्रपुर बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम १ सय मिलिग्रामसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार किसनगंज कोचाधामन थाना पटकोईहाट पञ्चायत–५ बस्ने २२ वर्षीय आलिम आलम रहेका छन् । उनीहरुलाई बुधबार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी झापाको दमक नगरपालिका–१ फाल्गुनन्द चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्राम र मोबाइल १ थानसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने ईलाम घर बताउने २५ वर्षीय सन्तोष कुमार एक्तेन लिम्बु र उनकी श्रीमती २४ वर्षीया सनिता राई रहेका छन् । इलाका प्रहरी कार्यालय दमक र अस्थाई प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरीले सन्तोषको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस्तै, चितवनको भरतपुर महानगरपालिका–१९ शारदानगर हेल्थपोष्ट चोकस्थित सोफीकटेज एण्ड रेस्टुरेन्टबाट अवैध लागूऔषध खैरो हेरोइन करिब २ ग्राम र नगद ४ हजार ५० रूपैयाँसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३७ वर्षीय विश्व राना मगर र २६ वर्षीय देव गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।