मकवानपुर प्रहरीद्वारा अवैध प्याज बरामद, दुई जना नियन्त्रण

तु खबर संवाददाता
२०८१ असार २८,बिहीबार ०९:५५

मकवानपुर । मकवानपुर प्रहरीले पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, पिपलबोटस्थित चेक पोईन्टबाट अवैध प्याज बरामद गरेको छ ।

प्रहरीले असार २५ गते पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना.३ च ५१६७ नम्बरको पिकअप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त पिकअपमा बिल बिजक नभएको २८ बोरा (अन्दाजी १२०० के.जि.) प्याज बरामद गरेको जनाएको छ ।

प्रहरीले उक्त बरामद प्याज, पिकअप गाडीसहित दुई जनलाई नियन्त्रणमा लिएको छ । प्रहरीले गाडी चालक मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर १ बस्ने २९ वर्षीय सोमलाल घलान र प्याज साहु हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ बस्ने ७१ का कुमार बहादुर संजेललाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई बरामद प्याजसहित असार २६ गते बुधबार आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको प्रहरीले जनाएको छ ।