लागूऔषधसहित पाँच जना पक्राउ

तु खबर संवाददाता
२०८१ असार २७,बुधबार १७:११

काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली, बाँके र झापा जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले कैलालीको टिकापुर नगरपालिका–९, खग्रौला चेकपोष्ट नजिक सडकबाट अवैध लागूऔषध खैरो हेरोइन ९ सय मिलिग्रामसहित दुई जनालाई मंगलबार पक्राउ गरेको छ ।

प्रहरीले बर्दिया राजापुर नगरपालिका–२ बस्ने १९ वर्षीय किशोर चौधरी समेत २ जनालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, बाँकेको नेपालगंज उपमहानगरपालिका–२० राँझा बस्ने ४५ वर्षीय ललन पठानलाई अवैध लागूऔषध ब्राउनसुगर ६ सय १० मिलिग्रामसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, झापाको दमक नगरपालिका–८ मुनालटोलबाट अवैध लागूऔषध ब्राउनसुगर ९ ग्रामसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–८ किरात चोक बस्ने ३३ वर्षीय आस नारायण मारापाचे र २८ वर्षीय तारा राई रहेका छन् ।

उनीहरुलाई मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, आस नारायणको डेरा कोठा तलासी गर्दा उक्त लागूऔयाध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।