लागूऔषधसहित पाँच जना पक्राउ

तु खबर संवाददाता
२०८१ असार २१, शुक्रबार १६:४३
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको छुट्टाछुट्टै स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले सुनसरी र मोरङ जिल्लाको छु्ट्टाछुट्टै स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका–११ मंगलबारे चोकबाट नियन्त्रित लागूऔषध स्पास्पेन ५ सय ५५ ट्याव्लेट र ट्रामोल २ सय ७० क्याप्सुलसहित २ जनालाई शुक्रबार बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका–११ बस्ने २२ वर्षीय सागर बिक र सोही उपमहानगरपालिका–४ बस्ने २० वर्षीया युनिका श्रेष्ठ रहेका छन् ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप सोधपुछको क्रममा उनीहरूले उक्त लागूऔषध धरान उपमहानगरपालिका–१२ चतरा लाईन बस्ने ३४ वर्षीय चिम्रे भन्ने हेम बहादुर ठकुरीलाई पु¥याई दिन लागेको खुल्न आएपछि हेम बहादुरलाई समेत आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

यस्तै, प्रहरीले मोरङको बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट नियन्त्रित लागूऔषध एभिल २ एम्पुल, डाईजेपाम २ एम्पुल, लुपिजेसिक २ एम्पुल, फेनारगन २ एम्पुल र नाईट्राभेट ३० ट्याब्लेटसहित २ जनालाई शुक्रबार बिहान पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बिराटनगर महानगरपालिका–६ बस्ने १९ वर्षीय रामु बिक र उर्लाबारी नगरपालिका–९ बस्ने १९ वर्षीय भिम कटेल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

ती दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।