अवैध लागूऔषधसहित १४ जना पक्राउ

तु खबर संवाददाता
२०८१ असार १४, शुक्रबार १५:५६

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको विभिन्न स्थानबाट १४ जनालाई पक्राउ गरेको छ । प्रहरीले बर्दिया, नुवाकोट, कैलाली, सुनसरी, सुर्खेत, बाग्लुङ, झापा, बाजुरा र काठमाडौं जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम ३ सय १० मिलिग्रामसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सुर्खेत बिरेन्द्रनगर नगरपालिका–१० बस्ने २० वर्षीय प्रदीप बुढालाई बिहिबार दिउँसो पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै, नुवाकोटको ककनी गाउँपालिका–१ ताम्सालिङगेटस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोसहित सोही गाउँपालिका–२ बस्ने २४ वर्षीय सविन तामाङ समेत २ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ककनीबाट खटिएको प्रहरीले ककनीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.७७ प ५५८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यस्तै, कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन २ सय १० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–१३ बस्ने २८ वर्षीय कमल भट्टलाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी, सुनसरीको देवानगञ्ज गाउँपालिका–७ स्थित सडकबाट अवैध लागूऔषध गाँजा २१ किलो २ सय ग्रामसहित २ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य सुपौल तिनटोलिया पंचायत प्रतापगंज थाना बस्ने २९ वर्षीय सुनिल कुमार यादव र देवानगंज गाउँपालिका–२ बस्ने २४ वर्षीय रणधिर यादव रहेका छन् । इलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको प्रहरीले हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

यस्तै, सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–११ धुलिया बिट बस्ने २१ वर्षीय बिबेक बिश्वकर्मालाई अवैध लागूऔषध ब्राउनसुगरको धुलो पदार्थ १ सय ९० मिलिग्रामसहित बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

उता, बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङस्थित मिना एण्ड लप्सन खाजा घर संचालन गरी बस्ने ५० वर्षीय धन बहादुर भण्डारीलाई प्रहरीले अवैध लागूऔषध गाँजा १ किलो ५० ग्रामसहित बिहिबार दिउँसो पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले उनको खाजा पसल तलासी गर्ने क्रममा उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो ।

यस्तै, झापाको मेचिनगर नगरपालिका–६ काँकरभिट्टास्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ९ सय मिलिग्रामसहित दमक नगरपालिका–८ किरात चोक बस्ने २३ वर्षीय रमेश दर्जीलाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यता, बाजुराको बुढिगंगा नगरपालिका–७ वायल गाउँबाट अवैध लागूऔषध चरेस ६ सय १० मिलिग्राम र अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्रामसहित २ जनालाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय बाबुराम खड्का र खप्तड छेडेदह गाउँपालिका–५ बस्ने बस्ने २६ वर्षीय दिपक रावत रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले खड्काको कुखुरा फर्म तलासी गर्दा फर्ममा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी, झापाको बिर्तामोड नगरपालिका–४ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर ७ सय २० मिलिग्रामसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका–४ मेघावारी घर बताउने २९ वर्षीय सुवास ताजपुरिया र सोही ठाउँ बस्ने २१ वर्षीय अम्मर कुमार राजवंशी रहेका छन् । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर ८ ग्राम २ सय मिलिग्राम, डिजिटल तराजु १ थान र मोबाइल २ थानसहित काठमाडौं महानगरपालिका–२६ लैनचौर बस्ने पाँचथर फालेलुङ गाउँपालिका–५ घर भएका २४ वर्षीय कृष्ण बहादुर लायोलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।