अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट चार जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा र बर्दिया जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले झापाको गौरिगञ्ज गाउँपालिका–१ कुञ्जिबारीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर ६ ग्राम ७ सय ३० मिलिग्रामसहित दुई जनालाई सोमबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सकमल गाउँपालिका–१ बस्ने ३० वर्षीय उद्धव भट्टराईसमेत २ जना रहेका छन् । उनीहरुलाई प्रहरी चौकी महाभाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस्तै, प्रहरीले बर्दियाको बारबर्दिया नगरपालिका–३ लक्ष्मणपुरबाट अवैध लागूऔषध १० ग्राम ८ सय ८० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद १२ हजार ९ सय ६० रूपैयाँसहित २ जनालाई सोमबार बिहान पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय उमेश खत्री र उनकै श्रीमती २५ वर्षीया अनिता खत्री रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज, जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको संयुक्त प्रहरीले खत्रीको घर तलासी गर्दा उक्त पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो ।
ती दुबै घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।