डरत्रास देखाउँदै २ करोड लुटपाट, प्रहरी हवल्दारसहित ४ जना पक्राउ

तु खबर संवाददाता
२०८१ असार १२,मंगलवार १६:०४

काठमाडौं । भक्तपुरबाट एक व्यक्तिको २ करोड रुपैयाँ लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

ददिकोटका डिल्लीराज राउतको २ करोड लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी हवल्दारसहित ४ जना पक्राउ परेका हुन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्ने प्रहरी हवल्दार कृष्णबहादुर बोहरा नेपाल प्रहरीको ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगन्ज’ मा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनीहरुले गत असार ४ गते सो रकम लुटपाट गरेको भनि उजुरीपछि अनुसन्धान अघि बढाएको थियो । अनुन्धानको क्रममा ती अभियुक्तहरुले आफूहरु सीआईबी भएको भन्दै राउतको घरभित्र प्रवेश गरेका थिए ।

त्यसपछि घरका सदस्यहरुलाई डरत्रास देखाउँदै उनीहरुले दराजमा रहेको २ करोड रुपैयाँ लुटेर भागेको बुझिइएको छ । पक्राउ परेका उनीहरुलाई प्रहरीले आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।