घरायसी विवादमा बहिनीको हत्या, दाई पक्राउ

रौतहट । रौतहटको परोहा नगरपालिका–८ नरकटिया टोल बस्ने एक युवतीको हत्या भएको छ । स्थानीय तेतरी कुमारी रामको हत्या भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, २० वर्षीया तेतरी कुमारीको आफ्नै दाई २२ वर्षीय दिपन्द्र कुमार रामले हत्या गरेको हो ।
दीपन्द्र कुमारले घरायसी विवादको कारण रिस आवेगमा आई बाँसको मुङ्ग्रोले प्रहार गर्दा तेतरी गम्भीर घाइते भएकी थिइन् । तेतरीको वीरगंजस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
आफ्नै बहिनी तेतरीको हत्या अभियोगमा दाई दिपन्द्रलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । उनी उपर ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा जिल्ला अदालत रौतहटबाट म्याद थप अनुमति लिई थप अनुसन्धान अगाडि बढाइएको छ ।