हातहतियारसहित तीन जना पक्राउ
काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट हातहतियारसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले उदयपुर, ताप्लेजुङ र सर्लाही जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका–१२ बाट चाईनिज पेस्तोल १ थानसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही नगरपालिका–३ भुल्के बस्ने २० वर्षीय जुलेस रायमाझीलाई आइतबार दिउँसो पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोलसहित पक्राउ गरेको हो ।
यस्तै, ताप्लेजुङको पाथीभरा याङबरक गाउँपालिका–४ डुम्रिसे बस्ने ४३ वर्षीय नरेश फुयाङ लिम्बुलाई भरूवा बन्दुक १ थान, सोही बन्दुकमा प्रयोग हुने बारूद, सिसाको टुक्रा र दाउ १ थानसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियारसहित पक्राउ गरेको हो ।
यसैगरी, सर्लाहीको लालबन्दी नगरपालिका–१५ बोरे डाडा बस्ने ५० वर्षीय रामलाल मोक्तानलाई मेड इन युएसए लेखिएको रिभल्वर १ थानसहित गएराति प्रहरीले पक्राउ गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषा र इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले मोक्तानको घर तलासी गर्दा उक्त रिभल्वर फेला पारी उनलाई पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।