१५ करोडको कोकिनसहित चार विदेशी नागरिक पक्राउ

तु खबर संवाददाता
२०८१ असार ६, बिहीबार १८:२७

काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरोले साढे ४ केजी कोकिनसहित ४ जना विदेशी नागरिकहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तान्जानिया घर भएका ६८ वर्षीय डोनाल्ड ज्याक्सन माबुगा, बोलिभिया घर भएकी ३३ वर्षीया लाउरा क्रुज टिकोना, भेनेजुयलाका ३० वर्षीय सिमोन एन्टोनियो अल्फोन्जो राडा र भारतीय नागरिक २७ वर्षीया लालरु उत्सङ्गी रहेका छन् ।

आरोपीहरूको साथबाट ४ किलो ५०४ ग्राम कोकिन बरामद गरिएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ । प्रहरीका अनुसार, बरामद सो कोकिनको बजार मूल्य करिब १५ करोड ७६ लाख हुन्छ ।

६८ वर्षका डोनाल्डले इथियोपियाको अदिश अबाबाबाट १८ वटा प्लाष्टिक कोटेड क्याप्सुल निलेर काठमाडौं आएका हुन् । उनको पेटबाट प्रहरीले १ केजी २०६ ग्राम क्याप्सुल निकालेको छ । डोनाल्डको अहिले प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

बोलिभियन लाउर क्रुजले १२१ वटा कपडाको बटनमा लुकाएर २ किलो १ सय ग्राम कोकिन ल्याएकी हुन् । भेनेजुयलाका ३० सिमोन पनि क्याप्सुल आकारका कोकिन निलेर ब्राजिलबाट काठमाडौं आएका थिए । उनको साथबाट १ किलो १०८ ग्राम बरामद गरिएको छ ।

कोकिन खरिद गर्न आएको अवस्थामा भारतीय युवती पक्राउ परेकी हुन् । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।