अवैध लागूऔषधसहित १२ जना पक्राउ

तु खबर संवाददाता
२०८१ असार २, आईतवार १६:०८
सांकेतिक तस्बिर

काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले १२ जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, कैलाली, पर्सा, पर्वत र बारा जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–२६ गोंगबु मित्रनगरस्थित कविता फार्मेसी नामको औषधि पसलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल हाईड्रो कोलोराइड ६ सय ५० क्याप्सुलसहित शनिबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फार्मेसी संचालक गोरखा पालुङ्टार नगरपालिका–४ घर भएकी २५ वर्षीया बिनिता कुमाल रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले फार्मेसी तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी, काठमाडौं महानगरपालिका–३२ कोटेश्वर सहयोगीनगर श्रीनगर गल्ली डेरा गरी बस्ने रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–३ स्थायी घर भएका २६ वर्षीय दिपेन्द्र ओलीसमेत ३ जनालाई लागूऔषसहित प्रहरीले पक्राउ गरेको छ । नियन्त्रित लागूऔषध ट्रामाडोल ३८ हजार ९४ क्याप्सुलसहित शनिबार साँझ प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले दिपेन्द्रको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–३ भन्सार ब्यारेलबाट अवैध लागूऔषध ब्राउन सुगर २ ग्राम ८ सय मिलिग्रामसहित शनिबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडी पाटन नगरपालिका–८ बस्ने २२ वर्षीय गणेश महरा रहेका छन् । उनलाई प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी, पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ भथौडा टोलबाट अवैध लागूऔषध गाँजा २२ किलो ४ सय ९० ग्रामसहित शनिबार दिउँसो एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २३ वर्षीय अमित कुमार चौधरी रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले उक्त गाँजासहित पक्राउ गरेको हो ।

त्यस्तै, पर्वतको कुश्मा नगरपालिका–७, खरेहाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल हाईड्रो कोलोराइड १ सय ८५ क्याप्सुलसहित शनिबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–३ दुर्लुङ बस्ने १६ वर्षीय किशोररहेका छन् । अस्थायी प्रहरी चौकी कुश्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस्तै, बाराको निजगढ नगरपालिका–८ स्थित तामागढी गेटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय १५ क्याप्सुलसहित ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–७ बस्ने ३० वर्षीय बिकास रुम्बालप, सोही नगरपालिका–२ सिंगौल बस्ने २९ वर्षीय गोपाल श्रेष्ठ र २२ वर्षीय रुपेश मगर रहेका छन् । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले बिकासलाई उक्त लागूऔषधसहित पक्राउ गरेश्चात सोधपुछ गर्दा उक्त लागूऔषध खरिद गर्न आएका प्र.२–०३–००४ प ८९२१ नम्बरको मोटरसाइकलमा सवार गोपाल र रुपेशलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी, कञ्चनपुरको भिमदत्त नगरपालिका–१ शिवमन्दिर नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन करिब ६० मिलिग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका–६ बस्ने २९ वर्षीय निरज चौधरी र सोही नगरपालिका–८ बस्ने २१ वर्षीय अकबर डगौरा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

साथै उनीहरूसँगै रहेका सोही नगरपालिका–८ बस्ने २१ वर्षीय सुमित चौधरीसमेतलाई जाँच गर्ने क्रममा सुमित फरार भएपश्चात सुमितको घर तलासी गर्दा खैरो हेरोइन २ ग्राम २ सय ६० मिलिग्राम फेला पारी बरामद गरेको छ । हाल फरार सुमितको प्रहरीले खोजी गरिरहेको छ ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।