अवैध लागूऔषधसहित ६ जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको छुट्टाछुट्टै स्थानबाट ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, मोरङ, सुनसरी र कञ्चनपुर जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा २ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्रामसहित २ जनालाई मंगलबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया गुलरिया नगरपालिका बस्ने २४ वर्षीय युवराज थापा र २६ वर्षीय प्रकाश थापा रहेका छन् ।
उनीहरुलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । बर्दियाबाट काठमाडौंतर्फ आउँदै गरेको भे १ ख ३६७५ नम्बरको बसमा सवार उनीहरूलाई पक्राउ गरिएको हो ।
यस्तै, मोरङको बिराटनगर महानगरपालिका वडा नम्वर १५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर ३८ ग्राम ८० मिलिग्रामसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही महानगरपालिका–३ बस्ने ३० वर्षीय सुनिल गडेरीलाई मंगलबार दिउँसो पक्राउ गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई पक्राउ गरेको हो ।
यसैगरी, सुनसरीको कोशी गाउँपालिका–१ लौकही बजारबाट अवैध लागूऔषध खैरो हेरोइन ४५ ग्राम २ मिलिग्रामसहित भारत बिहार घर भएका ४२ वर्षीय सन्तोष यादव समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकाही र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त टोलीले को ३ प ७२६७ नम्बरको मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो ।
यस्तै, कञ्चनपुरको भिमदत्र् नगरपालिका–१८, सालघारीबाट अवैध लागूऔषध चेरश ११ ग्राम ८७ मिलिग्राम र डिजिटल तराजु १ थानसहित सोही ठाउँ बस्ने ४१ वर्षीय गणेश पाण्डेलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले पाण्डेले संचालन गरेको पाण्डे किराना तथा नास्ता पसलमा जाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
