अवैध लागूऔषधसहित तीन जना पक्राउ

तु खबर संवाददाता
२०८१ जेष्ठ २५, शुक्रबार १८:३०
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङ र काठमाडौं जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले मोरङको बिराटनगर महानगरपालिका–१६ दक्षिण गेट शिव मन्दिरबाट अवैध लागूऔषध ब्राउनसुगर ६ सय ८० मिलिग्रामसहित शुक्रबार बिहान प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही महानगरपालिका–१५ बस्ने ३८ वर्षीय पप्पु पाठक रहेका छन् । उनलाई लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरीले उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १९ एम्पुल, डाइजेपाम २० एम्पुल र प्रोमेथाइजिन हाइड्रोक्लोराइड २० एम्पुल सहित २ जनालाई शुक्रबार बिहान पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रुपन्देही, रुपन्देही उपमहानगरपालिका –२ फुलबारी बस्ने २३ वर्षीय यम बहादुर सुनार र मणिग्राम नगरपालिका–१२ बस्ने २४ वर्षीय सेखर कुमार खड्का रहेका छन् ।

प्रहरी प्रभाग नागढुङगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङगाबाट खटिएको संयुक्त प्रहरी टोलीले बुटवलदेखि काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख १५३३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

ती दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।