लागूऔषधसहित ९ जना पक्राउ
काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, झापा, सुनसरी, बर्दिया र बाँके जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले काठमाडौं महानगरपालिका–२६ म्हैपी पुलस्थित सेलिन सेफाली खाजा घरबाट अवैध लागूऔषध ट्रामाडोल २ हजार २ सय ९० ट्याब्लेट, ८ हजार रूपैयाँ र २ थान मोइबाइलसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले खाजा घरका संचालक पाँचथर फिदिम नगरपालिका–७ घर भएकी ३८ वर्षीया निर्मला योङ्हाङलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।
यसैगरी, काठमाडौं मित्रनगरस्थित किराना पसलबाट अवैध लागूऔषध ट्रामाडोल ४ हजार ५ सय १० ट्याब्लेट, १७ हजार रूपैयाँ र २ थान मोबाइलसहित दुई जना पक्राउ परेका छन् । उक्त पसलका संचालक गोरखा बारपाक सुलिकोट गाउँपालिका–६ घर भएकी २८ वर्षीया शान्ता वस्ती र सोही ठाउँ बस्ने ३२ वर्षीया सुस्मा कुँवरलाई समेत मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर टेकु र प्रहरी प्रभाग नयाँबसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस्तै, झापाको बिर्तामोड नगरपालिका–५ बिर्तामोड शनिश्चरेबाट अवैध लागूऔषध खैरो हेरोइन करिब १ ग्राम ९ सय २० मिलिग्रामसहित अर्जुनधारा नगरपालिका–६ घर बस्ने २७ वर्षीय महमद रेहानलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले मे.६ प १८८५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
त्यस्तै, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन ८ ग्राम २३ मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको धनकुटा नगरपालिका–२ भिरगाउँ बस्ने २० वर्षीय बुद्धिमान राई र २१ वर्षीय रबिन लिम्बु रहेका छन् ।
उनीहरुलाई मंगलबार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकाहीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको को.१३ प ८४८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको सिटमुनि लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारी मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरेको हो ।
यस्तै, बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर ३ सय ९० मिलिग्रामसहित मधुबन नगरपालिका–७ ताराताल बस्ने २४ वर्षीय अजय सुनारलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महमदपुर र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी, बाँकेको खजुरा गाउँपालिका–२ पुलचोकबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ४ सय मिलिग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय बिवस खनाल र सोही गाउँपालिका–१ बस्ने २७ वर्षीय आकाश थापा रहेका छन् । प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले सोही ठाउँस्थित कृष्ण लाल जैसीको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै घटनामा संलग्न हाल फरार जैसीको प्रहरीले खोजी गरिरहेको छ ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
