अवैध लागूऔषधसहित कैलाली र मोरङबाट तीन जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली र मोरङ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले कैलालीको गोदावरी नगरपालिका–१ अनामनगरबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ५ सय ९० मिलिग्रामसहित शनिबार एक किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–१ बस्ने १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, प्रहरीले मोरङको धनपालथान गाउँपालिका–३ टिटैयाबाट अवैध लागूऔषध ब्राउनसुगर ३ सय ७० मिलिग्रामसहित २ जनालाई शनिबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुन्दर हरैचा नगरपालिका–४ बस्ने २९ वर्षीय राम कुमार चौधरी र रंगेली नगरपालिका–३ बेतौना बस्ने २४ वर्षीय सुरेन्द्र मर्डी रहेका छन् ।
इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०२–०४१ प ९३९७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
