लागूऔषधसहित चितवन र मोरङबाट तीन जना पक्राउ

तु खबर संवाददाता
२०८१ जेष्ठ १७, बिहीबार १६:२७

काठमाडौं । प्रहरीले छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले चितवन र मोरङ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो ।

प्रहरीले चितवनको इच्छाकामना गाउँपालिका–६ बाट अवैध लागूऔषध गाँजा २ किलो ९ सय २६ ग्रामसहित २ जनालाई बुधबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईच्छाकामना गाउँपालिका–६ पाँचकिलो बस्ने ४४ वर्षीया डल्ली गुरूङ र ५० वर्षीया रूक कुमारी क्षेत्री रहेका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्ने क्रममा डल्लीलाई २ किलो ७ सय ग्राम र रूकलाई २ सय २६ ग्राम गाँजासहित पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले मोरङको बिराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर ९ सय ६० मिलिग्रामसहित बुधबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी उपमहानगरपालिका–५ बस्ने ४९ वर्षीय अमर श्रेष्ठ रहेका छन् ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । ती दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।