अवैध मुद्रासहित विदेशी नागरिक पक्राउ
काठमाडौं । अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न देशका मुद्रासहित बुधबार एक विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लेबनानका नागरिक ४९ वर्षीय रबिह अबी चाकर रहेका छन् ।
एयर ईण्डियाको उडानद्वारा दिल्ली हुँदै दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको चेकिङ एरियामा जाँच गर्ने क्रममा पक्राउ गरिएको हो ।
प्रहरीले उनको साथबाट ४ लाख ८० हजार नेपाली रूपैयाँ, १७ हजार ५ सय २० अमेरिकी डलर, २ हजार ८० युएई दिराम र २६ लाख १० हजार लिबान लिभरे बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनलाई उक्त मुद्राहरूसहित आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।
