अवैध लागूऔषधसहित १३ जना पक्राउ

तु खबर संवाददाता
२०८१ जेष्ठ १६, बुधबार १५:५९

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको छुट्टाछुट्टै स्थानबाट १३ जनालाई पक्राउ गरेको छ । प्रहरीले ललितपुर, सल्यान, डडेल्धुरा, मोरङ, झापा र सुर्खेत जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–१ सम्झना टोलबाट अवैध लागूऔषध गाँजा २ किलो ८० ग्रामसहित मंगलबार एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही ठाउँ बस्ने काभ्रे पनौती घर भएकी ५९ वर्षीया मनुमाया तामाङलाई पक्राउ गरेको हो । प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यस्तै, सल्यानको सारदा नगरपालिका–१२ चिसापानी बस्ने २७ वर्षीया पूर्ण कला भण्डारीलाई अवैध लागूऔषध गाँजा १ किलो २ सय ६० ग्रामसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सितलपाटीबाट खटिएको प्रहरीले सारदा नगरपालिका–१ श्रीनगर डेरा गरी बस्ने बागचौर नगरपालिका–३ घर भएका १८ वर्षीय किशोर र छत्रेश्वरी गाउँपालिका–१ बस्ने १९ वर्षीय कृष्ण केसीलाई जाँच गर्दा ८ मिलिग्राम गाँजा फेला पारी थप अनुसन्धान गर्दा पूर्णकलाको घरबाट किनेर ल्याएको खुल्न आए पश्चात पूर्णकलाको घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी, डडेलधुराको अजयमेरू गाउँपालिका–२ चमडा बस्ने ५५ वर्षीय डम्बर सिंह बोहरालाई उनकै घरबाट अवैध लागूऔषध चरेश करिब १ किलो २ सय ग्रामसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चमडाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, सुनसरीको देवानगंज गाउँपालिका–६ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १० किलोसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय राम बालक पासवान र सोही गाउँपालिका–५ साहेवगंज बस्ने ३५ वर्षीय गोपाल बहरदार रहेका छन् । अस्थायी प्रहरी चौकी राजगंज सिनुवारीबाट खटिएको प्रहरीले को.२७ प ८०४१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको उक्त लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो ।

त्यसैगरी, मोरङको बिराटनगर महानगरपालिका–१४ जतुवाबाट अवैध लागूऔषध गाँजा १ सय ८१ किलोग्रामसहित संखुवासभा चैनपुर नगरपालिका–१ बस्ने २७ वर्षीय लाक्पा दोर्जे शेर्पालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले प्रदेश नं.१–०२–००१ ख ९२७० नम्बरको खाली सिलिन्डर बोकेको मिनि ट्रकलाई जाँच गर्दा उक्त लागूऔषध फेला पारी ट्रक चालक शेर्पालाई पक्राउ गरेको हो ।

यसैगरी, झापाको कन्काई नगरपालिका–३ बाट अवैध लागूऔषध खैरो हेरोइन ४ ग्राम ३ सय मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका–१० बस्ने ३१ वर्षीय सबिन तामाङ र कन्काई नगरपालिका–४ बस्ने २८ वर्षीय शराब आलम रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै, सुर्खेतको विरेन्द्रनगर नगरपालिका–४ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने २४ वर्षीय छोटे भन्ने छबिलाल गिरीलाई मंगलबार राति प्रहरीले पक्राउ पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेत र अस्थायी प्रहरी विट सहिद पार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।