एमाले मकवानपुरको १८ र १९ गते हुने अधिवेशनको उद्घाटन ओलीले गर्ने

तु खबर संवाददाता
२०८१ जेष्ठ १५, मंगलवार १९:१२

मकवानपुर । नेकपा एमाले मकवानपुरको यही जेठ १८ र १९ गते हेटौंडामा हुने १२ औं जिल्ला अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् ।

मंगलबार हेटौंडामा पत्रकार सम्मलेनको आयोजना गरी एमाले मकवानपुरले सो बारे जानकारी गराएको हो ।

सम्मेलनमा एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले अधिवेनका लागि विभिन्न समितिहरु गठन गरेको जानकारी गराउँदै अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताए ।

कुल ७६९ जना अधिवेशन प्रतिनिधिले जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरु चयन गर्ने एमाले मकवानपुर अध्यक्ष श्रेष्ठले बताए ।

उनका अनुसार, अधिवेशनमा जिल्लाका १० वटै पालिकाबाट प्रतिनिधि, पर्यवेक्षक र विभिन्न क्षेत्रसंग सम्बन्धित व्यक्तित्व, पार्टीको जनवर्गीय संगठनहरुबाट सहभागीता रहनेछ ।

अधिवेशनमा मकवानपुर जिल्लाका ११ हजार ६ सय ८४ जना पार्टी सदस्यहरुबाट अधिवेशनको लागि प्रतिनिधि चयन गरिएको छ ।

अधिवेशनबाट मजदुर, पेशागत जनसंगठन, जेष्ठ कम्युनिष्ट मञ्च, सल्लाहाकार परिषद समेतबाट छानिएर ७ सय ६९ प्रतिनिधीहरुले सहभागीता जनाउने र अधिवेशनको बन्द सत्रबाट भाबी नेतृत्व समेत चयन गरिने श्रेष्ठले उल्लेख गरे ।

साथै सम्मेलनलाई सफल गराउन दुई सय जना स्वयंसेवक परिचालन गरिएको उनले बताए ।

यस्तै, अधिवेशनको उद्घाटनको अघिल्लो दिन हेटौंडा उपमहानगर क्षेत्रमा भव्य मोटरसाइकल र्यालीको पनि आयोजना गरिने आयोजकले जनाएको छ ।