अवैध लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको छुट्टाछुट्टै स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले तनहुँ, पर्सा र मोरङ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो ।
प्रहरीले तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानी बस्ने २२ वर्षीय धन बहादुर आलेलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७५ ट्याब्लेटसहित आइतबार बिहान पक्राउ गरेको छ । आलेले आफ्नै घरमा लागुऔषध बिक्रीबितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस्तै, पर्साको वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ४६ ट्याव्लेटसहित काठमाडौं महानगरपालिका–३ बस्ने २१ वर्षीय हेनिस अधिकारीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनरूवा र लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको संयुक्त टोलीले रक्सौलबाट वीरगंज बजारतर्फ जाँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी, मोरङको बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर ९ सय १० मिलिग्रामसहित सुन्दरहरैंचा नगरपालिका–८ बस्ने ३० वर्षीय निशान पुलामी मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।