४ लाख घुससहित एक जना पक्राउ

तु खबर संवाददाता
२०८१ जेष्ठ १०,बिहीबार १५:३६
file photo

काठमाडौं । काठमाडौंको चन्द्रागिरिबाट ४ लाख घुस रकमसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–२ बस्ने ध्रुव बहादुर कडायत रहेका छन् ।

उनलाई घुस लिएको अवस्थामा चन्द्रागिरि नगरपालिका वडा नम्बर–१२ स्थित नगरपालिकाको कार्यालयको गेटबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

चन्द्रागिरि नगरपालिका–२ का अध्यक्ष भाई कृष्ण तामाङको निर्देशनमा कडायतले घुस रकम लिएको अख्तियारले गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

आरोपीले सेवाग्राहीबाट लिइसकेको अवस्थामा २ लाख नगद र २ लाख रुपैयाँ बराबरको चेक बरामद गरिएको अख्तियारले जनाएको छ ।

व्यवसाय स्थानान्तरणका लागि सिफारिस र दर्ता गरिदिने प्रयोजनाका लागि वडा अध्यक्षको निर्देशनमा बिचौलिया बनेर कडायले घुस लिएका हुन् । चेक कडायतकै नाममा काटेको भेटिएको छ ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।