अवैध लागूऔषधसहित तीन जना पक्राउ
काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले सुनसरी र लमजुङ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ५ सय मिलिग्रामसहित बुधबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–५ बस्ने २५ वर्षीय संजिब रिजाल र सोही बस्ने संजिब प्रधान रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०२–०५३ प ७६१७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरिएको हो ।
यस्तै, प्रहरीले लमजुङको सुन्दरबजार नगरपालिका–७ छबिसे टोल बस्ने ४२ वर्षीय रामशरण सापकोटालाई अवैध लागूऔषध गाँजा ४ किलो ३ सय ५ ग्रामसहित बुधबार राति पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सुन्दरबजार र इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
ती दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
