मकवानपुरका पाख्रिनसहित तीन जना पक्राउ

तु खबर संवाददाता
२०८१ जेष्ठ २, बुधबार १५:२६

सुनसरी । सुनसरीको देवानगंज गाउँपालिका–५ मेहता टोलबाट अवैध लागूऔषध गाँजा ४ सय ४० किलोग्राम, १ लाख ५० हजार भारतीय रूपयाँ र ५२ हजार नेपाली रूपैयाँसहित मंगलबार तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा मकवानपुर घर भएका २५ वर्षीय चन्द्र बहादुर पाख्रिन, मोरङको लेटाङ नगरपालिका–६ बस्ने बल बहादुर लिम्बु र सुनसरी देवानगंज गाउँपालिका–४ बस्ने ३० वर्षीय अरबिन्द पाल रहेका छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय साहेबगंजबाट खटिएको प्रहरीले राजगंज सिनबारीबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, साहेबगंजतर्फ जाँदै गरेको को.१ ख ७१२३ नम्बरको मिनि ट्रकलाई जाँच गर्ने क्रममा १३ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक चन्द्र बहादुर तथा ट्रकमा सवार बल बहादुर र अरबिन्दलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।