गोली प्रहार गरेर लागूऔषध कारोबारी पक्राउ
काठमाडौं । मोरङको रतुवामाई नगरपालिका–६ मा प्रहरीले गोली प्रहार गरेर एक जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेम भारतको बिहार घर भएका ४८ वर्षीय भागिरथ हरिजन रहेका छन् । उनलाई लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले चलाएको गोली लागेर उनी घाइते भएका छन् । उनको दायाँ खुट्टामा गोली लागेको जिल्ला प्रहरी कार्यालय मोरङका एक जना अधिकृतले जानकारी दिए ।
लागूऔषध नियन्त्रण ब्युरोका प्रहरी नायव निरीक्षक बालकृष्ण सन्जेल नेतृत्वको टिमले गोली चलाएको हो ।
उनलाई नियन्त्रणमा लिने क्रममा ब्युरोबाट खटिएका असई नवीन शाही पनि घाइते भएका छन् ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
