अवैध लागूऔषधसहित तीन जना पक्राउ

तु खबर संवाददाता
२०८१ जेष्ठ १, मंगलवार १५:५२

काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा र मोरङ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो ।

प्रहरीले झापाको भद्रपुर नगरपालिका–४ नर्सिङ बगानबाट अवैध लागूऔषध ब्राउनसुगर ३ सय १० मिलिग्रामसहित सोमबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–३ ज्ञानेचोक बस्ने २३ वर्षीय उज्वल मगर रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गर्दा उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी, झापाको मेचिनगर नगरपालिका–६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम ५ सय ७० मिलिग्रामसहित सोमबार राति एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मैवाखोला गाउँपालिका–४ घर भई इलाम माई नगरपालिका–४ दानाबारी बस्ने ३१ वर्षीय उमेश शेर्पा रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०१–००२ ह ७९७ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटो चालक शेर्पालाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले मोरङको बिराटनगर महानरपालिका–१६ हुलास चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ५२० मिलिग्रामसहित सोमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–१८ बस्ने २९ वर्षीय जेस राई रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३१ प ३२५५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।