मकवानपुरका एकसहित चार जना पक्राउ

तु खबर संवाददाता
२०८१ बैशाख ३१, सोमबार ०८:२०

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुर घर भई हाल काठमाडौं आरूबारी बस्ने ३० वर्षीय निमा रिन्जिन, ललितपुरको ललितपुर महानगरपालिका–९ ईमाडोल बस्ने ५५ वर्षीय प्रकाश बज्राचार्य, ५६ वर्षीया कल्पना बज्राचार्य र रामेछापको मन्थली नगरपालिका–९ घर भई काठमाडौं जोरपाटी बस्ने ३४ वर्षीया चन्द्र माया थापा कार्की रहेका छन् ।

पक्राउमध्ये निमाले बेलायत पठाइदिन्छु भन्दै १० जना पीडितहरूबाट ५६ लाख ५० हजार रूपैयाँ, प्रकाश र कल्पनाले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १५ लाख रूपैयाँ र चन्द्रमायाले स्पेन पठाइदिन्छु भन्दै १ जनाबाट २ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंका छुट्टाछुट्टैस्थानबाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।