एक थान कटुवा पेस्तोलसहित पक्राउ
संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१ लिबुङटार बस्ने ताप्लेजुङ मायाखोला गाउँपालिका–१ घर भएका दिलबहादुर चोङवाङ कटुवा पेस्तोलसहित पक्राउ परेका छन् ।
४२ वर्षीय दिबहादुर एक थान कटुवा पेस्तोलसहित शनिबार दिउँसो पक्राउ परेका हुन् । उनलाई प्रहरी चौकी नुनढाकीबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार, मामा नाता पर्ने नयनबहादुर लिम्बुको घरमा बस्दै आएका दिलबहादुर र नयन बहादुरबीच घरायसी विवादको कारण झैं–झगडा भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली पुगेको थियो ।
प्रहरीले दिलबहादुरको कोठा तलासी गर्दा उक्त पेस्तोल बरामद भएपछि निजलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
