अवैध लागूऔषधसहित तीन जना पक्राउ

तु खबर संवाददाता
२०८१ बैशाख ३०, आईतवार १६:०१

काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले धनुषा र कैलाली जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन ४ ग्राम २ मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महोत्तरी बर्दिवास नगरपालिका–२ टावरटोल बस्ने २३ वर्षीय दिपक महतो र सोही ठाउँ बस्ने २८ वर्षीय सुभाष परियार रहेका छन् ।

इलाका प्रहरी कार्यालय ढल्केबर, लागूऔषध नियन्त्रण ब्यूरो जनकपुर र अस्थाई प्रहरी पोष्ट बडहरीबाट खटिएको प्रहरीले ढल्केबरबाट बर्दिबासतर्फ जाँदै गरेको प्र.३–०२–०१ प ०२८३ र ज.१२ प१४१६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त परिमाणको खैरो हेरोइन फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले कैलालीको टिकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय २० मिलिग्रामसहित शनिबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टिकापुर नगरपालिका–९ बस्ने २२ वर्षीय बिरेन्द्र साउद रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

ती दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।