मकवानपुरमा बैंकिङ कसुरका घटना बढ्दो

मकवानपुर । मकवानपुर जिल्लामा पछिल्लो सयम बैंकिङ कसुरका घटना बढ्दै गएको छ । जिल्लामा अघिल्लो वर्षहरुको तुलनामा बैंकिङ कसुरका घटना बढ्दै गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख छ ।
प्रहरीको तथ्याङ्क अनुसार, जिल्लामा चालु आर्थिक वर्ष २०८०/०८१ को पछिल्लो ९ महिनाको अवधिमा गत आर्थिक वर्षको तुलनामा बैंकिङ कसुरका घटना बढेको पाएको हो ।
चालु आर्थिक वर्षको साउन महिनादेखि चैत मसान्तसम्ममा मकवानपुरमा १ सय ३३ वटा बैंकिङ्ग कसुर र १३ वटा ठगी सम्बन्धी मुद्धा दर्ता भएका छन् ।
गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा ७५ वटा बैंकिङ्ग कसुर र ५ वटा ठगीको मुद्दा दर्ता भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार, बैंकिङ्ग कसुर अन्तर्गत चेक अनादर, झुटा कागजपत्र पेश गरेर अथवा नक्कली कागजपत्र बैंकबाट कर्जा लिने जस्ता थुप्रै अपराध पर्दछ ।