पाकिस्तानमा आतङ्कवादी हमला हुँदा सात मजदुरको मृत्यु
ग्वादर । पाकिस्तानको ग्वादरमा एक आतङ्कवादी हमला हुँदा सात मजदुरको मृत्यु भएको छ ।
गएराति आतङ्ककारीहरूले अन्धाधुन्ध गोली चलाउँदा सुतिरहेका सात जनाको मृत्यु भएको बताइएको छ ।
स्थानीय सञ्चार माध्यमहरूमा छापिएको खबर अनुसार आतङ्ककारीहरूले ग्वादरको साराबन्दमा फिस हार्बर जेट्टी नजिकैको आवासीय क्वार्टरमा आक्रमण गरेका थिए ।
अन्धाधुन्ध गोली चलाउँदा एक जना घाइते भएका छन् । पाकिस्तानमा आतङ्कवादी हमलामा वृद्धि भएको छ ।
सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिजले हालै सार्वजनिक गरेको वार्षिक सुरक्षा प्रतिवेदन अनुसार २०२३ मा पाकिस्तानमा ७८९ आतङ्कवादी हमला भएको थियो । यी आक्रमणमा १ हजार ५२४ जनाको मृत्यु भएको थियो भने १ हजार ४६३ जना घाइते भएका थिए ।