गाँजासहित मकवानपुरका तीन जना पक्राउ

तु खबर संवाददाता
२०८१ बैशाख २५,मंगलवार १६:०५

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–७ माईङ्गा खोलाबाट अवैध लागूऔषध गाँजासहित सोमबार तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका–३ बस्ने २३ वर्षीय राजेन्द्र घिसिङ, सोही गाउँपालिका–४ बस्ने २७ वर्षीय बिबेक प्रजा र हेटौंडा उपमहानगरपालिका–१८ बस्ने २२ वर्षीय उत्तम पाख्रिन रहेका छन् ।

उनलाई पर्सा राष्ट्रिय निकुन्जमा सुरक्षार्थ खटिएको नेपाली सेनाको गस्ती टोलीले ३६ किलो लागूऔषध गाँजासहित पक्राउ गरेको हो ।

उनीहरूलाई उक्त परिमाणको गाँजासहित नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको जनाइएको छ ।

पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।