मानवबेचबिखन गरेको अभियोगमा पक्राउ
काठमाडौं । वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनदै कुवेत पुर्याइ मानवबेचबिखन गरेको अभियोगमा प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको बेनिघाट रोराङ गाउँपालिका–३, बस्ने ४७ वर्षीय श्याम बाबु बराकोटी रहेको प्रहरीले जनाएको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय धादिङ समेतको समन्वयमा मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले धादिङ बेनिघाट रोराङ गाउँपालिका–३, बाट पक्राउ गरेको हो ।
अनुसन्धान ब्युरोका अनुसार, श्याम बाबु समेतले पीडितलाई नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा कुवेत पठाइदिने भन्दै झुक्याई २०७९ माघ २५ गते भिजिट भिसामा कुवेत पुर्याएका थिए ।
श्याम बाबुले ती पीडित व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र कुवेतको एअरपोर्टमा देखाउने कागजातहरू समेत फरक–फरक बनाई कुवेतको एअरपोर्टमा पुगे पश्चात जाहेरवालाको सक्कल नेपाली राहदानी लगायतका कागजातहरू नियन्त्रणमा लिई श्रीलंकन मुलको एजेन्टलाई जिम्मा लगाई कुवेती नागरिकको घरमा पु¥याई बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
साथै पीडितले कुवेतमा काम नगर्ने नेपाल फिर्ता गरिदिन भनि आग्रह गर्दा ५ लाख रकम माग गरेको र नेपालमा रहेका आफन्तलाई सम्पर्क गरी श्याम बाबु समेतले उपलब्ध गराएको खातामा ३ लाख रकम जम्मा गरे पश्चात पीडित कुवेतबाट २०७९ फागुन २१ गते नेपाल फर्कन सफल भएका थिए ।
उनी उपर मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको छ । साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।
