बागमतीमा आजबाट नेवाः/तामाङ भाषा सरकारी कामकाजको रुपमा लागू हुँदै

तु खबर संवाददाता
२०८१ बैशाख २४, सोमबार ०८:३७
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौंडा । तस्बिरः तु खबर ।

मकवानपुर । बागमती प्रदेशमा आजबाट सरकारी कामकाजी भाषा ऐन २०८० कार्यान्वयन हुँदैछ ।

प्रदेश सरकारले आजबाट औपचारिक रूपमा नेवाः (नेपाल) र तामाङ भाषा सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयन गर्न लागेको हो ।

गत २०८० असोज २२ मा बागमती प्रदेश सभाबाट ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ पारित गरिएको थियो भने कार्तिक २३ गतेका दिन प्रदेश राजपत्रमा प्रकाशित भएको थियो ।

राजपत्रमा प्रकाशित भएको १८० औँ दिनमा ऐन कार्यान्वयनमा जाने कानुनी व्यवस्था रहेकाले सोही अनुसार वैशाख २४ (आज) बाट ऐन कार्यान्वयनमा ल्याउन लागिएको हो ।

सो अवसरमा संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयलगायत संघसंस्थाले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

साथै प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक विदा समेत दिएको छ ।