१२ कक्षाको प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ

तु खबर संवाददाता
२०८१ बैशाख १८, मंगलवार १६:०५

पोखरा । १२ कक्षाको प्रश्न पत्र आउट गरेको आरोपमा प्रहरीले पोखराबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पोखरा-११ फूलबारी बस्ने ३९ वर्षका नारायण बास्तोला र सोही ठाउँका ३७ वर्षीय रामचन्द्र बास्तोला रहेका छन् ।

पोखरा ११ फूलबारीस्थित शिवशक्ति माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र विद्युतीय माध्यमबाट आउट गरेको आरोपमा सोमबार उनीहरूलाई पक्राउ गरेको हो ।

आइतबारको प्रश्न पत्र आउट गरेको उजुरी प्रदेश प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय रामबजारमा परेको थियो ।

उनीहरूको साथबाट कक्षा १२ को थप उत्तर पुस्तिका ८ थान पनि बरामद गरेको कास्की प्रहरीले जनाएको छ । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।