४० लाख रुपैयाँको अवैध सामान बरामद, भारतीय नागरिक पक्राउ

तु खबर संवाददाता
२०८१ बैशाख १८, मंगलवार ०९:०१

धनगढी । धनगढीमा प्रहरीले ४० लाख रुपैयाँभन्दा बढीको अवैध सामान बरामद गरेको छ ।

सोमबार साँझ धनगढी उपमहानगरपालिका–४ मा रहेको हरि ओम हार्डवयर एण्ड सप्लायर्सको गोदाममा प्रहरीले छापा हानेर ४० लाख ४ हजार रुपैयाँको सामान बरामद गरेको जनाएको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको अपराध अनुसन्धान समुहको टोलीले उक्त रकमको सामान बरामद गरेको हो ।

साथै प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारतको लखिमपुर पलिया कला खिरी जिल्ला स्थायी घर भएर धनगढी उपमहानगरपालिका–३ मा बस्दै आएका ४४ वर्षीया आशिष गुप्ता पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, भारतीय नम्बर युपी ३१ टी ७७११ नम्बरको ट्रकमा भन्सार छली चोरी पैठारी गरी ल्याएका उक्त रकम बराबरको हार्डवेयरका सामान, ट्रकसहित गुप्तालाई पक्राउ गरिएको हो । गुप्ता ट्रक चालक हुन् ।

प्रहरीले बरामद गरिएको ट्रक, सामान र गुप्तालाई आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाएको छ ।