मकवानपुरकी बालिकालाई बेचबिखन गर्ने कार्यमा संलग्न महिला पक्राउ

तु खबर संवाददाता
२०८१ बैशाख १५,शनिबार ०९:५७

काठमाडौं । मकवानपुरकी अढाई वर्षीया बालिकालाई बेचबिखन गरेको अभियोगमा प्रहरीले सोमबार एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका–१३ घर भई काठमाडौं जडिबुटी बस्ने उर्मिला भन्ने ४३ वर्षीय कल्पना विश्वकर्मा रहेका छन् ।

उक्त कार्यमा संलग्न विश्वकर्मालाई मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं भृकुटीमण्डपबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, विश्वकर्माले मकवानपुरको एक परिवारकी बालिकालाई होस्टेलमा राखि पढाई दिने प्रलोभन देखाई काठमाडौंस्थित आफ्नै घरमा राखेको थिइन् । तर, उनले झापाको काकरभिट्टा पुर्याइ भारत सिलगुडीबाट आएकी आफ्नै साथीलाई ती बालिका सुम्पिएकी थिइन् ।

विशेष सूचनाको आधारमा प्रहरी, राष्ट्रिय बालबालिका खोजतलास केन्द्र तथा राष्ट्रिय बाल अधिकार परिषद्को पहलमा सोमबार ती बालिकाको उद्दार गरि हाल सुरक्षित आवासगृहमा राखिएको छ ।

पक्राउ परेका विश्वकर्मामाथि मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।