५ वर्षीय छोराको हत्या आरोपमा आमा पक्राउ

तु खबर संवाददाता
२०८१ बैशाख १४, शुक्रबार १५:५९

जनकपुरधाम । सिरहामा ५ वर्षीय छोराको हत्या गरी शव लुकाएको आरोपमा आफ्नै आमा पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा ३४ वर्षीय सरीताकुमारी साह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरीका अनुसार, सखुवानन्कारकट्टी गाउँपालिका ५ घर भई हाल लहान नगरपालिका १ मा बस्ने साहले आफ्नै छोरा आयुष साहको हत्या गरेर सुत्ने पलंगमा लुकाएकी थिइन् ।

गत वैशाख ११ गते दिउँसो साढे ५ बजे स्थानीयले बालक बेपत्ता भएको प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले खोजतलाश गर्दै जाँदा आमा सरीता सुत्ने कोठामा रहेको बक्स पलङको घर्राभित्र मृत अवस्थामा आयुष फेला परेको सिरहा प्रहरीले जनाएको छ ।

आमा सरीतालाई सोही दिन पक्राउ गरी सिरहा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको जनाइएको छ ।