अवैध लागूऔषधसहित तीन जना पक्राउ

तु खबर संवाददाता
२०८१ बैशाख ९, आईतवार १५:५२
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको छुट्टाछुट्टै स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङ, महोत्तरी र तनहुँ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो ।

प्रहरीले मोरङको बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन ७२ मिलिग्रामसहित शनिबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम माङ्सेबुङ गाउँपालिका–४ बस्ने २७ वर्षीय मन बहादुर राई रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले महोत्तरीको मनराशिस्वा गाउँपालिका–४ जाउकबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ग्रामसहित शनिबार राति एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिका बस्ने ६५ वर्षीया सरस्वती देवी मण्डल रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट सरपल्लोबाट खटिएको प्रहरीले मनराबाट जाउकतर्फ जाँदै गरेकी उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यसैगरी, प्रहरीले तनहुँको आबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोसहित आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका–६ घर बताउने २७ वर्षीय ईन्द्र लामा रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख १५१५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।